सरु गैरे
सर्वप्रथम नारी दिवसको सबैमा शुभकामना । अबका दिनमा नारीहरुले सुरक्षित महसुुस गर्ने वातावरणको सिर्जना होस् कहि कतै महिलामाथि हुने अपराधका घटनाहरु सुन्न नपरोस् । सबै नारीहरुले निर्धक्ककासाथ दिनचर्या गुजार्ने समय आवस् यहि कामना गरौँ ।
पछिल्लो समयमा महिला हिंसाका घटनाहरु तीव्ररुपमा बढिरहेका छन् अरु प्रकारका हिंसाका तुलनामा बलात्कारजन्य हिंसाले प्रश्रय पाएको छ । नारीको जीवन हरेक पलपल डर त्रासमा बितेका छन् । थाहा छैन कतिबेला आफ्नो शिकार हुन्छ भन्ने कुरा । बलात्कारको शिकारमा अन्त्येष्टि भएका नारीहरुको समाचारले अरु नारीहरुलाई अब मेरो पालो होला भन्ने कुराले सताएको छ । हिजोआज घरपरिवारभित्र र घरबाहिर कहि कतै नारीहरु सुरक्षित छैनन् ।
हरेक आमाबाबुले छोरी जन्माएकोमा पछुतो पनि लाग्दो हो । कतिबेला त हामी नारीलाई नै लाग्ने गर्छ साच्चिकै हाम्रो जन्मनै अभिशाप हो । पुरुषले गर्ने क्रुर व्यवहारका कारण सामाजिक वातावरण सन्त्रासमय बन्न पुगेको छ । विद्यालय जादै गर्दा र विद्यालयबाट घर फर्कदा कुन समयमा आफूहरु बलात्कारको शिकार भईन्छ भन्ने भय बाहेक किशोरीहरुको मस्तिकमा अरु कल्पनाले डेरा लिन सकेको छैन । घर , विद्यालय, कार्यालयमा कुनै न कुनै रुपमा महिलाहरुमा यौनक्रियाकलाको बाण छेडेकै हुन्छन् पुरषहरुले । तर पनि महिलाले उक्त कार्यको चाहेर पनि प्रतिकार गर्न सक्ने अबस्था हुदैन । पुरुषको पुरुषत्वले नजानिदो प्रकारले कमजोर बनाईदिएको छ । प्रतिकार नगर्दा र बदनाम हुने डरले मौन बस्दा एकातिर ज्यानै जाने र अर्कोतिर बदनामको डरले पनि पुरुषलाई झनै सहज बनेको छ । उनीहरु निर्धक्ककासाथ महिलाको मौनतामा पौडि खेलिरहेका छन् ।
बलात्कारको शोषणमा महिलाको कुनै उमेरको हद र नाता सम्बन्धको कुरालाई पुरुषले ख्याल गर्दैनन् ।जुन सत्य दिनानेदिन हाम्रो आँखा अगाडि सिनेमाको कथाजस्तै एकपछि अर्को चेलीकाु बलात्कार र हत्याले प्रष्ट पारेको छ । कानुन कार्यान्वयनमा फितलोपना आउनु र सरकारले महिलाको यो मुद्धालाई, समस्यालाई गैरजिम्मेवारपूर्ण र वेवास्ता गरिदिनाले पनि दिनका दिन महिलाहरुको बलात्कृत हुने संख्याले चर्को रुप लिएको छ ।यो दुनियामा मानव जातिमाथि हुने सबैभन्दा अपराधिक घटना बलाकात्कारको नै हो । नेपालमा त झनै बलात्कार गरेर हत्या गर्ने कुरा सामान्य जस्तै भएको छ । उदाहरणको लागि हामीले अलि बढि सुन्नमा र चर्चामा आएका घटनाहरु बैतडीकी १३ वर्षिय बालिका निर्मला पन्त, बझाङकी १२ वर्षिय बालिका सम्झना कामीको बलात्कारपछि हत्या गरिनु हुन् ।
यी घटनाहरुत प्रतिनिधिमूलक मात्र हुन् यस्ता घटनाहरु देशभर नगण्य संख्यामा रहेको हामीले अनुमान गर्न सक्छौ । केहि वर्ष यता हाम्रो देशमा जसरी बलात्कारका घटनाहरु बढिरहेका छन् । तिनलाई हेर्दा हामीले तत्कालै हस्तक्षेपपूर्ण कार्य गर्न सकेनौ भने अब हाम्रा छोरीहरु जोगाउन कठिन परिस्थिति नआउला भन्न सकिदैन। विं. सं. २०७५ देखि २०७७ सम्ममा ६ हजार ८ सय ४४ महिलाहरु बलात्कृत भएको प्रहरीको तथ्याङ्क सार्वजनिक भएको छ । २०७६÷ २०७७मा २ हजार ८ सय ३१जना महिलाहरु बलात्कृत भएका छन् । यो संख्या तुलना गर्दा २०७४÷०७५को भन्दा दोब्बर हो । यस्तै बलात्कार प्रयासका घटनाहरु पनि दोब्बरकै हाराहारीमा छन्। २०७४÷ ०७५मा १५०० जना महिलामाथि बलात्कार भएको थियो भने ७ सय बलात्कार प्रयासका घटनाहरु भएका थिए। दूई वर्षमा ६ हजार ८ सय ४४ जना महिला बलात्कारको शिकार हुनु भनेको सानो तिनो तथ्याङ्क होईन यसलाई सामान्य रुपमा लिनु हुदैन।
यतिका संख्यामा महिला बलात्कार हुनुको अर्थ सम्बन्धित महिलाहरुमाथि शारीरिक यातना र मानसिक यातनाको विक्षिप्तता मात्र नभई हाम्रो समाजका हिंस्रक पुरुषहरुको जिउँदो उपस्थिती पनि हो । यस्ता हिंस्रक पुरुषहरुको वर्षेनी बढ्दो छ । महिला र बालिका बलात्कृत हुने र मारिने संख्यामा पनि वृध्दि हुदै छ । अब हामीले सोच्नुपर्ने कुरा के हो भने हाम्रा छोरी, श्रीमती र बुहारी अनि साथीहरु बलात्कार गर्ने ती पुरुषहरु बाहिरबाट आयतित नभएर हाम्रै नातागोता आफन्त हुन् ।त्यसकारण यस्तो क्रियाकलाप रोक्नको लागि बलात्कारका मुद्धा पुरुष ,महिला, लैगिंक अल्पसंख्यक सबैका लागि समान सरोकारको विषय बनाईनुपर्छ। महिलासँग मात्र जोडिनु हुदैन।
बलात्कारका सवालमा ईज्जत लुटिनेको होइन लुट्नेको जानुपर्ने हो । पीडितको नभई पीडकको मान ,प्रतिष्ठा, सम्मान जाने भएकाले महिलाको ईज्जतसँग यसलाई जोड्नुहुदैन। अचम्म त के छ भने समाजमा सचेत र शिक्षितको संख्या बढ्दै जाँदा हाम्रा छोरीहरु असुरक्षित बन्दै गएका छन् । शिक्षा, चेतना र कानुनका बाबजूद पनि बलात्कारका घटना बढ्नु डरलाग्दो कुरा हो ।
प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कमा ५० प्रतिशत भन्दा धेरै घटना आफन्त तथा नजिकका व्यक्तिबाट हुने गरेको छ। एक वर्ष नपुगेका बालिकाको पनि बलात्कार भएका घटना दर्ता भएका छन् । हरेक वर्ष बलात्कृत हुने नाबालिकाको संख्या १३९३ पुगेको पाईएको छ । यी घटनाहरु डरनै लाग्नै गरि बढिरहेका छन् । २०७० ÷०७१ मा ५ सय ५९ जना नाबालिका बलात्कारका शिकार भएका थिए । गत वर्षमा आईपुग्दा बलात्कृत नाबालिकाको संख्या १३९३ पुगेको पाईएको छ। पछिल्ला पाँच वर्षमा बलात्कारका ११ हजार घटना दर्ता भएकामा सबैभन्दा डरलाग्दो तथ्य पाँच हजार बालिका बलात्कृत भएका छन् ।
यसरी बलात्कार भएका घटनाहरु सुन्दा आङ नै सिरिङ्ग हुन्छ । कल्पना गरौ त बलात्कृत हुने र विभत्स हत्या गरिएकी ती नारीलाई कति पीडा र कति गाह्रो भयो होला । बाबाआमालाई त झन् आफ्नो छोरी गुमाउनुको पीडा यहाँ वर्णन गर्ननै सकिदैन । आफ्ना नागरिकको हक हित र रक्षाको जिम्मा राज्यको हुन्छ तर विडम्बना हाम्रो देशमा आन्दोलन र शक्ति नलगाइकन त कुनै पनि अपराधीलाई कारवाही हुदैन । यदि राज्यको कानुन दह्रो भैदिने हो भने यस्ता घटनाले प्रश्रय पाउने थिएनन् । राज्यले जबसम्म ईमान्दारीसँग दोषीलाई कडा कारबाही गर्दैन तबसम्म वर्षेनी हजारौको संख्यामा चेलीहरुले आहुती दिनेपर्ने हुन्छ ।
वास्तबमा पुरुषले नारीलाई उपभोगको साधनका रुपमा नलिने हो भने नारीले कहिल्यै पनि असुरक्षित महसुस गर्न पर्ने थिएन । ज्यानको आहूति दिनु पर्ने बाध्यता पनि हुने थिएन ।
बलात्कारका घटनालाई नियन्त्रण गर्नका लागि हामी सबै आ आफ्नो ठाउबाट जागरुकताका साथ हातेमालो गनुपर्ने हुन्छ । मानिसको ईज्जत भनेको उसको मान, प्रतिष्ठा हो । बलात्कारका सवालमा ईज्जत लुटिनेको होइन लुट्नेको जानुपर्ने हो । पीडितको नभई पीडकको मान ,प्रतिष्ठा, सम्मान जाने भएकाले महिलाको ईज्जतसँग यसलाई जोड्नुहुदैन। अचम्म त के छ भने समाजमा सचेत र शिक्षितको संख्या बढ्दै जाँदा हाम्रा छोरीहरु असुरक्षित बन्दै गएका छन् । शिक्षा, चेतना र कानुनका बाबजूद पनि बलात्कारका घटना बढ्नु डरलाग्दो कुरा हो । यसको नियन्त्रणका लागि कुनै निश्चित समूह मात्रै नभएर प्रत्येक नागरिकमा सचेतना र संबेदनशिलता आबश्यक हुन्छ । यो भावनात्मक नभई कानुन् ि राज्यको दायित्वसँग जोडिएको कुरा हो । बलात्कारीलाई फाँसी दिदैमा बलात्कारका घटना न्युन हुन्छन् भन्ने पनि ग्यारेण्टी छैन । किनकी विश्वका धेरैजसो मुलुकमा फाँसी दिने कानुनी व्यवस्था छ तर के ती मुलुकमा बलात्कार नै हुदैन र? त्यसैले फाँसी दिएपनि समस्याको उजागर हुदैन बरु महिलाको शरीरलाई बस्तुको रुपमा हेर्ने पितृसत्तात्मकक विचारधारा भएकोले यसलाई जरैदेखि उखेल्नु राम्रो हुन्छ।
तसर्थ जबसम्म समाजको मानसिकतामा परिवर्तन हुदैन तबसम्म एक व्यक्तिलाई राज्यले मारेर समस्याको कडि समाप्त हुदैन बरु कानुनलाई कठोर परिपालना वा कार्यान्वयन गराउन पट्टी लाग्नुपर्छ ।हरेक मानिसलाई सामाजिक शैक्षिक स्तरबाट माथि उठाउने भूमिकामा राज्य रहनुपर्छ । कानुनी चेतना सबेमा जागृत गराउन पनि विभिन्न निकायले उत्तिकेै भुमिका खेल्नुपर्ने देखिन्छ ।हामी जो जहाँ छौँ त्यहीँबाट बलात्कारजन्य अपराधलाई नियन्त्रणमा लिनको लागि सत्प्रयास गरौँ नारीलाई जबरजस्ती यौन क्रिडामा सामेल गराउनुभन्दा बढीभन्दा बढी सोचविचार गर्ने गरौँ । त्यो बखतमा नारीहरु कति पीडामा हुन्छन् भन्ने कुरालाई पनि मध्यनजर गर्ने गरौँ। वास्तबमा पुरुषले नारीलाई उपभोगको साधनका रुपमा नलिने हो भने नारीले कहिल्यै पनि असुरक्षित महसुस गर्न पर्ने थिएन । ज्यानको आहूति दिनु पर्ने बाध्यता पनि हुने थिएन । यस कुरामा दुईमत हुनैसक्दैन । यसर्थ यस्ता विषयमा हामी सबैको ध्यान जानु वर्तमान समयको टड्कारो आबश्यकता र माग हो भन्न सकिन्छ ।