तनहुँ । निषेधाज्ञा उल्लंघन गरेको भन्दै तनहुँमा पक्राउ गरिएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई रिहा गरिएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका पौडेललाई झन्डै तीन घन्टापछि रिहा गरिएको हो ।
पौडेलसँगै पक्राउ परेका कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेले पौडेलसहित आफूहरुलाई रिहा गरिएको बताए । व्यास नगरपालिकाका दुई वडा जोड्ने पुलको उद्घाटनका लागि पुगेका पौडेललाई प्रहरीले गिरफ्तार गरेको थियो ।
आफ्नो पालामा निर्माण भएको पुल उद्घाटन गर्न स्थानीय सरकार र पुल निर्माण समितिले आफूलाई बोलाएकाले गएको तर सरकारले सुरक्षा दिनुको सट्टा उल्टो अधिनायकवादी चरित्र देखाउँदै आफूलाई पक्राउ गरिएको पौडेलले बताए ।
सभापति आलेले पौडेललाई रिहा गरिएसँगै अहिले दमौली क्षेत्रमा गरिएको पृथ्वी राजमार्गको अवरोध पनि रातिदेखि हट्ने बताए । उनले सत्तारुढ नेकपाले आफ्ना कार्यकर्ता परिचालन गरी झडपको स्थिति बनाइ त्यसैलाई निहुँ देखाएर पक्राउ गरिएको पनि आरोप लगाएका छन् ।
यो पनि पढ्नुहोस्
नेता पौडेलको गिरफ्तारी सर्वसत्तावादी नियतको पराकाष्ठा
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथिको गिरफ्तारी र दुर्व्यवहारलाई सर्वसत्तावादको संकेतका रुपमा व्याख्या गरेका छन्।
सभापति देउवाले वक्तव्य जारी गरी सरकारको सर्वसत्तावादी प्रवृत्तिविरुद्ध देश व्यापी प्रतिरोध गर्ने चेतावनी पनि दिएका छन्।
‘तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितीले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ,’ देउवाले भनेका छन्।
सरकारको यो निन्दनीय व्यवहारको भत्सर्ना गर्दै तत्काल पौडेललाई रिहा गर्न माग गरेका देउवाले अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न सरकारलाई चेतावनी दिएका छन्।
‘वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटना प्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिष्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर शसक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु,’ देउवाले भनेका छन्।