लमजुङ (भोर्लेटार) । मध्यनेपाल नगरपालिका-६, भोर्लेटारमा अवस्थित श्री ईशानेश्वर मा. वि. को ५७ औँ वार्षिकोत्सव समारोह सोमबार छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रमका साथ सम्पन्न भएको छ । वि.सं. २०२१ सालमा स्थापित यो विद्यालय यस उपत्यकाको विद्यालय शिक्षाको मेरुदण्डको रूपमा लिइन्छ ।
हाल उक्त विद्यालयमा साधारण र प्राविधिक दुबै धारका पढाइ हुन्छन । प्राविधिक धारतर्फ बाली विज्ञान बिषयको पढाइ भइरहेको छ । हरेक बर्ष एक सप्ताह भव्य रूपमा मनाईने बार्षिकोत्सव कोभिड १९ का कारण यस बर्ष केवल एक दिवसीय पुरस्कार वितरण कार्यक्रम आयोजना गरी मनाइएको हो । मध्यनेपाल नगरपालिका शिक्षा शाखा प्रमुख श्री श्रीप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
विद्यालयका प्रधानाध्यापक रामकृष्ण घिमिरेको वार्षिक प्रतिवेदनवाट सुरु भएको उक्त कार्यक्रममा सल्लाहकार समितिका सदस्य रामकृष्ण घिमिरे, विशेष अतिथि वडा अध्यक्ष विष्णुभक्त पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो । मन्तव्यका क्रममा प्रमुख अतिथि भट्टराईले मध्यनेपाल नगरपालिकाको मुटुमा रहेको उक्त विद्यालयले राम्रो नतिजा ल्याएर उदाहरणीय बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रधानाध्यापकद्वारा प्रस्तुत शैक्षिक प्रतिवेदनलाई सङ्केत गर्दै उक्त विद्यालयले एस्.ई.ई. परीक्षामा ४ जना विद्यार्थीले ए प्लस ल्याए भनेर सन्तुष्ट भएर बस्ने ठाउँ छैन भन्ने कुरा व्यक्त गर्नुभयो ।
उक्त अवसरमा उहाँले विभिन्न अक्षयकोष दाता तथा विद्यालयका तर्फवाट वार्षिक रूपमा प्रदान गरिने पुरस्कारहरू विद्यार्थीहरूलाई हस्तान्तरण गर्नुभयो । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, सल्लाहाकार समिति, शिक्षक कर्मचारी स्टाफ र विद्यार्थीहरूको मात्र उपस्थित उक्त कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष रामभक्त पौडेलको अध्यक्षतामा भएको विद्यालयका शिक्षक रणबहादुर न्यौपानेले बताउनुभयो ।