कफी पिउनुहुन्छ ? जानिराखौँ फाइदा र बेफाइदा !
- विशाल श्रेष्ठ ओसिएन

युवा पुस्तामाझ निकै चर्चित बनेको छ, ‘कफी डेट’ र ‘कफी गफ’ जस्ता शब्द । कफीमै आधारित भएर विभिन्न टेलिभिजन च्यानलले “कफी ट सो” कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् ।
पछिल्लो समय निकै लोकप्रिय बनेको समाजिक सञ्जालमा पनि ‘कफी टाइम’ भन्दै विभिन्न स्टाटस र फोटो राख्ने ट्रेन्डको सुरुवात् भइसकेको छ ।
कफी धैरैको रोजाइमा पर्छ । युवा पुस्ता, बालबच्चा होस् या बुढाबुढी कफी सबैलाई मन पर्छ । कफी खान कुनै समय नै पर्खिरहनु पर्दैन । बिहान होस् वा बेलुका, पानी परेको होस् वा घाम लागेको । जुनसुकै समयमा कफी पिउन सकिन्छ ।
नेपालमा राजधानी काठमाडौँलगायत विभिन्न सहरी क्षेत्रमा कफी ‘ह्याङ आउट’ गर्ने ट्रेन्डको विस्तार भइरहेको छ । लामो समयपछि भेटिएको साथी सुरुमा कफी अफर गर्छ अनि कफी हाउसमा बसेपछि मात्र सुरु हुन्छ उनीहरुका औपचारिक कुरा ।
रमाइलो गफसँगै कफीको चुस्कीले झन् रौनकता थपिदिन्छ । युवा प्रेम जोडीहरु मन साट्छन् कफीसँगै... अनि माया बाँड्छन् कफीसँगै... ।
कफी यस्तो चिज हो, जसले एकै छिनमा थकान मेटाउन र फ्रेस बनाउन मदत गर्छ । नेपाली कफी नेपालमा मात्र नभएर बाहिर पनि उत्तिकै लोकप्रिय छ । अहिले नेपाली ग्रामीण क्षेत्रमा कफी खेतीप्रति नेपाली कृषकहरु आकर्षित देखिन्छन् । पछिल्लो समय अमेरिका, जापान, कोरियालगायत अन्य देशमा नेपाली कफीको माग बढिरहेको छ ।
नेपालमा कफीको इतिहास ४७ वर्ष पुरानो छ । नेपालमा सर्वप्रथम कफी भित्र्याउने श्रेय हिरा गिरीलाई जान्छ । बर्मामा जगिरे रहेका उनले सन् १९९५ मा बर्माबाट अरेबिया जातको कफीको बोट गुल्मीमा भित्र्याएका थिए । उनले बर्माबाट ल्याएको बोट गुल्मीमा रोपेका थिए । त्यहीँबाट नेपालमा ४२ जिल्लामा कफीको व्यावसायिक खेती हुँदै आएको छ ।
रमाइलो गफसँगै कफीको चुस्कीले झन् रौनकता थपिदिन्छ । युवा प्रेम जोडीहरु मन साट्छन् कफीसँगै... अनि माया बाँड्छन् कफीसँगै... ।
कफी पिउने मानिसहरुका अनुसार कफीले उनीहरुको दैनिक उत्पादकत्वमा धेरै राम्रो प्रभाव पार्छ । कफी खानुका फाइदा र बेफाइदा दुवै छन् त्यसैले यसको प्रयोग गर्दा होसियारी अपनाउनुपर्छ । कफी पिउँदा हुने ११ फाइदाहरु :
१) दुखाइ कम गर्ने
अध्ययनले देखाएको छ कि शारीरिक परिश्रम हुने खालको काम गरेपछि कफी पिउँदा दुखाइ कम हुन्छ । द जर्नल अफ पेनमा प्रकाशित भएको अध्ययनअनुसार शारीरिक व्यायामपछि खाइने दुई कप कफीले व्यायामपछि हुने दुखाइ ४८ प्रतिशतले कम गर्छ ।
२) फाइबरको मात्रा बढाउने
कफीमा फाइबरको मात्रा हुन्छ । फाइबर मानव स्वास्थ्यका लागि अत्यावश्यक तत्त्व हो । एक कप कफीमा १.८ ग्राम फाइबर हुने जर्नल अफ एग्रिकल्चर एण्ड फुड केमेस्ट्रीले उल्लेख गरेको छ । एक व्यक्तिले दिनको २०–३८ ग्राम फाइबर लिनुपर्ने विज्ञले बताएका छन् ।
३) लिभरको सिरोसिसबाट जोगाउने
कलेजोको सिरोसिस हुनबाट कफीले जोगाउन सक्ने देखिएको छ । सेलको डिजेनेरेशनका कारण हुने सिरोसिसविरुद्ध कफी फाइदाजनक हुने हेपाटोलोजी जर्नलमा प्रकाशित अध्ययनमा उल्लेख गरिएको छ ।
४) टाइप टु डाइबिटिजको जोखिम कम गर्ने
दिनको ६ कप वा त्योभन्दा बढी कफी पिउने व्यक्तिमा डाइबिटिजको जोखिम २२ प्रतिशत कम हुन्छ । पछिल्लो अध्ययनअनुसार एक कप कफीका कारण टाइप टु डाइबिटिजको जोखिम ९ प्रतिशत कम गर्ने देखिएको छ ।
५) अल्जाइमरको जोखिम कम गर्ने
कफीमा हुने क्याफिनले अल्जाइमर रोगको जोखिम कम गर्ने केही अध्ययनहरुले देखाएका छन् । कफीले ब्रेन प्लाक्यु निर्माणलाई जोगाउने देखिएको छ । ब्रेन प्लाक्यु कम हुँदा अल्जाइमरसहितका रोग लाग्छ ।
६) आत्महत्या तथा डिप्रेशनको जोखिम कम गर्ने
१० वर्षसम्म ८६ हजारभन्दा बढी महिलामा गरिएको अध्ययनअनुसार कफी पिउनेहरुमा आत्महत्याको जोखिम कम हुने देखिएको हो । यस्तै, अर्को अध्ययनमा दिनको चार कप वा त्योभन्दा बढी कफी पिउने महिलामा डिप्रेशनको जोखिम २० प्रतिशतले कम हुने देखिएको छ ।
७) पार्किन्सनबाट जोगाउन सहयोग गर्छ
स्वीडनेमा भएको पछिल्लो अध्ययनअनुसार कफीले पार्किन्सनसहितका जोखिम कम गर्न सहयोग गर्ने देखिएको छ । वंशाणुगत कारणले हुने पार्किन्सनबाट पनि कफीले जोगाउन सक्ने अध्ययनमा उल्लेख छ ।
८) मुटुसम्बन्धी रोगको जोखिम कम
कोरियामा भएको अनुसन्धानले कफीका कारण मुटुसम्बन्धी रोगको जोखिम कम हुने देखिएको छ । दिनको तीनदेखि पाँच कप कफी पिउनेमा मुटुसम्बन्धी रोगको जोखिम कम हुने देखिएको हो ।
९) कफी पिउनेहरुको डिएनए बलियो
युरोपियन जर्नल अफ न्युट्रिसनमा प्रकाशित भएको अध्ययनअनुसार कफी पिउनेहरुको डिएनए बलियो हुने देखिएको छ ।
१०) मल्टिपल स्क्लोरोसिसको जोखिम कम गर्ने
कफीका कारण मल्टिपल स्क्लोरोसिस (एमएस) को जोखिम कम हुने देखिएको छ । पछिल्लो अध्ययनअनुसार दिनको कम्तीमा चार कप कफीले एमएसको जोखिम गर्ने देखिएको छ ।
११) कोलोरेटिकल क्यान्सरको जोखिम कम गर्ने
कफीको कम मात्रै प्रयोगले पनि कोलोरेटिकल क्यान्सरको जोखिम २६ प्रतिशतले कम गर्छ । कफीको मात्रा बढ्दै जाँदा जोखिम थप घट्दै जान्छ ।
यसका अलवा कफिका बेफाइदा पनि छन् । यसबारे पनि जानौँ :

१) गर्भवती महिलाले कफी पिउनु राम्रो मानिँदैन । यसको कारण बच्चाको स्वास्थ्यमा असर पार्छ ।
२) गर्भपातको जोखिमसमेत बढाउँछ ।
३) दुध कफीले ग्याष्ट्रिक बढाउन सक्छ ।
४) राति सुत्नुअघि कफी पिउनु राम्रो मानिन्न ।
५) उच्च रक्तचाप भएका मानिसले धेरै क्याफिनयुक्त कफी पिउनुहुँदैन ।
६) निन्द्राको समस्या भएका तथा हड्डी कमजोर भएकाले पनि कफी पिउनुहुँदैन ।
कति प्रकारको बन्छ कफी ?
कफीका विभिन्न प्रकार हुने गर्छन् । हट ड्रिङ्क कफी १५ प्रकारको हुने गर्छ । जसमा क्याप्पुच्चिनो, मोक्का, अफगाटो, हट लेयर मोक्का, लात्ते, पिकलो, क्यारेमल मकिआत्तोलगायत हुन् ।
यस्तै कोल्ड ड्रिङ्कमा १० देखि १५ प्रकारका कफी हुने गर्छन् । त्यसमा आइस टी, लेमोनेद, आइस लात्ते, आइस मोक्का, ब्लेन्देद मोक्का, आइस क्याप्पुचिनो, आइस अमेरिकानो जस्ता धेरै प्रकारका कोल्ड ड्रिङ्क कफीहरु बनाउन सकिन्छ ।
त्यस्तै, ब्रु कफीहरु पनि बनाउन सकिन्छ । जस्तै:, पौर ओभर, भि 60 हरु हुन् ।
कफी अल्टरनेटिभमा
कफी आर्ट गर्दा हर्ट, रोसेटा, वेभिङ हर्ट, हर्ट स्विल, टुलिप, स्वान, कतबच, थ्रिडी, प्रिन्टिङ, बेट र डबल लिप जस्ता धेरै प्रकारका आर्टहरु प्रयोग गरिन्छ ।
बारिस्टा भनेको के हो ?
बारिस्टा भनेको कफी बनाउने मात्र होइन, सामान्य बरिस्टाले सिक्नुपर्ने ड्रिङ्क बनाउने मात्र पनि होइन, त्यहाँको सरसफाइ गर्ने, मार्केटबाट अर्डर गर्ने, स्टकलाई व्यवस्थापन गर्ने, सर्भ गर्ने, नयाँ आउने स्टाफलाई तालिम दिने, कफीबारे ज्ञान राख्ने सबै जान्नुपर्छ । यसका साथै मेसिनमा आउने सामान्य समस्या हल गर्ने, मेसिनको सफा गर्ने, मेसिनलाई माया गर्ने सबै बारिस्टाको काम हो ।
(इन्स्टाग्राममा करिब ५५ हजार फलोअर्स, ६ पटकसम्म यु.के लात्ते आर्ट च्याम्पियन र वर्ल्ड लात्ते आर्ट च्याम्पियनका फाइनलिस्ट, डिटी कफी रोस्तोतरी एवम् कफिल बुकका प्रबन्ध निर्देशक, कन्टि मन्कावोका ब्र्यान्ड प्रतिनिधि धन तामाङको इन्स्टाग्रामबाट लिइएको तस्बिर हो ।)

विभिन्न एजेन्सीहरुको सहयोगमा तयार पारिएको ।