पोखरा । गण्डकी प्रदेशका नेपाली भाषा शिक्षकहरूको पेसागत विकासका लागि आयोजित १० दिने तालिम बिहीबार तनहुँको दमौलीमा सम्पन्न भएको छ ।
शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशद्वारा आयोजित तालिममा गण्डकी प्रदेशका ११ ओटै जिल्लामा माध्यमिक तहमा नेपाली भाषा अध्यापन गराउने २७ जना शिक्षकहरूको सहभागिता रहेको थियो । तालिम फागुन २५ देखि सुरु भएको हो ।
शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशका तालिम प्रमुख नेपालहरि रानाभाटको अध्यक्षतामा भएको तालिमको संयोजन शाखा अधिकृत विदुरहरि आचार्यले गरेका थिए । समापन समारोहमा तालिम प्रमुख रानाभाटले नेपाली भाषा अन्य विषयजत्तिकै महत्त्वपूर्ण रहेकाले महत्त्वका साथ तालिम आयोजना गरिएको बताए । नेपाली भाषा विषयमा विद्यार्थी कमजोर हुँदा अन्य विषयमा समेत कमजोर हुने भएकाले तालिमबाट प्राप्त ज्ञान र सिप कक्षाकोठासम्म पुर्याउन शिक्षकहरूसँग रानाभाटले आग्रह गरे । भाषा पाठ्यपुस्तकमा समावेश गरिएका विभिन्न विधाहरूका माध्यमबाट भाषिक सिप सिकाउनेतर्फ शिक्षक चनाखो हुनुपर्नेमा जोड दिँदै तालिम प्रमुख रानाभाटले विद्यालयका हरेक गतिविधिमा चाहिने नेपाली भाषा र भाषा शिक्षकलाई उपेक्षाको दृष्टिले हेर्न नहुने भनाइ राखे ।
तालिम संयोजक विदुरहरि आचार्यले तालिमपछि गर्नुपर्ने परियोजना कार्यका बारेमा जानकारी दिँदै तालिम केवल प्रमाणपत्रका लागि हुन नहुने भनाइ राखे । उनले तालिमका विषयवस्तुलाई सहभागीहरूकै सुझावका आधारमा थप परिमार्जन गर्दै लैजाने बताए ।
कार्यक्रममा सहभागीहरूका तर्फबाट बोल्दै दुधपोखरी माध्यमिक विद्यालय, मादी, कास्कीकी सिर्जना पौडेलले नेपाली विषयको पेसागत विकास तालिम कमै मात्रामा हुने गरेकोमा तालिम केन्द्रले अब महत्त्व दिन थालेकोमा खुसी व्यक्त गरिन् । उनले यसलाई निरन्तरता दिनसमेत माग राखिन् । सहभागीकै तर्फबाट शिवालय माध्यमिक विद्यालयका रुपिन्द्र प्रभावीले पनि बोलेका थिए ।
नेपाली भाषाको सिकाइ सहजीकरणका क्रममा कक्षाकोठामा देखिएका समस्यामाथि छलफल गरिएको तालिममा नेपालहरि रानाभाट, विदुरहरि आचार्य, नेपाल प्रकाश अधिकारी, सुरज लम्साल, विष्णु घिमिरे, धना श्रेष्ठ, प्रेम पोखरेल, माया थापा, मुक्तिप्रसाद रेग्मीलगायतले सहजीकरण गरेका थिए ।