पाेखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल निकट अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटिले २६ औं जनयुद्ध दिवसको अवसरमा शनिबार साँझ पाेखरामा दीप प्रज्वलन गरेको छ । क्याम्पस गेटमा जम्मा भई विद्यार्थीले जनयुद्धका क्रममा ज्यान समर्पण गर्ने सहिदलाई स्मरण गर्दै मैन बत्ती बालेका हुन् ।
दीप प्रज्वलनपछि आयोजित कोणसभामा बोल्दै अनेरास्ववियूका केन्द्रिय सदस्य राजन शर्मा पराजुलीले सहिदको बलिदानी पश्चात् प्राप्त उपलब्धिलाई कुल्चँदै केपी शर्मा ओली अघि बढेको भन्दै सहिदको रगत र आत्माको श्रापले सुख नदिने बताए । सहिद परिवारका तर्फबाट विद्यार्थी नेता त्रिदीप गुरुङले मुलुक परिवर्तनका लागि सहिदहरुले आफ्नो ज्यान दिएपनि अहिले नेताहरुले मुलुक र जनताप्रति गद्धारी गरेको बताए ।
पार्टीका स्याङ्जा जिल्ला कमिटि सदस्य टीकाराम नेपाली, कास्कीका आमन्त्रित जिल्ला सदस्य नारायण बास्तोला लगायतले बोलेका थिए । अनेरास्ववियू कास्की जिल्ला सहसंयोजक बसन्त भट्टचन, पृथ्वीनारायण क्याम्पस कमिटि कार्यवाहक अध्यक्ष सन्तोष न्यौपाने, विद्यार्थी नेता प्रेम बुढा मगर लगायतको सहभागिता रहेको थियाे ।