‘एक हातको ताली’बाट मदन पुरस्कार पाएका युवराज नयाँघरे एक धुरन्धर लेखक हुन् । २०४० सालमा भानु पत्रिकामा कविता छपाई साहित्ययात्रा थालनी गरेका युवराज नयाँघरेका संवेदनाका स्वरहरु (संयुक्त निबन्ध संग्रह) २०५४ हुँदै हरियो राहदानी (निबन्ध संग्रह)२०६९ देखि तनक्खा (नियात्रा संग्रह) २०७६ सम्म आइपुग्दा १६ वटा निबन्ध तथा नियात्रा संग्रह प्रकाशित छन् ।
विशेष सेक्सपियर र एन्टभ चेखबका हिन्दीमा अनुवादित रचनाहरु पढ्नक मन पराउने नयाँघरे लक्ष्मीप्रसाद देवकोटाबाट प्रभावित भएको देखिन्छ नयाँघरेका निबन्धमा हृदयका उदात्त अनुभूतिहरू र तीव्र भावनाहरू प्रशस्त खेल्छन्। उनले आफ्ना अनुभूति जति गहनरूपमा प्रस्तुत गरेका हुन्छन् त्यति उनका अन्तर्नि्हित हृदय प्रबल र तीव्ररूपमा प्रकट हुन्छ।
दर्जनभन्दा बढी साहित्य र संस्कृतिसँग सम्बद्ध संस्थामा संलग्न उनले स्नातकसम्म पूरा गरेका छन्। उनले “एक हातको ताली” निबन्ध संग्रहका लागि २०६५ सालको मदन पुरस्कार पाएका हुन्। त्यसबाहेक उनले राष्ट्रिय प्रतिभा पुरस्कार – २०५६, उत्तम शान्ति पुरस्कार – २०५८, युवावर्ष मोती पुरस्कार – २०६१ लागाएत दुइ दर्जनभन्दा बढी पुरस्कार, मान-सम्मान र पदक पाएका छन् ।
प्रकृतिको काखमा विचरण गर्न रुचाउने, एउटा नयाँ कुरा पाउनेबित्तकिै घण्टौंसम्म कल्पनामा हराउने आदत छ । भावुक र कल्पनाशील हृदयका उनी जहाँ पुग्दा पनि त्यसलाई लेखनको विषय बनाउन सक्ने क्षमता राख्छन् । उनै दयालु र उदार स्वभावका चर्चित नियात्राकार, निबन्धकार युवराज नयाँघरे सँग समसामयिक लेखनबारे सांरगी न्युजका लागि सम्पादक प्रकाश अधिकारीले गरेको सक्षिंत कुराकानी
कुन पुस्तक लेख्दै हुनुहुन्छ ?
– हिजोआज पढ्ने काम बढी भएको छ । केही अघि बर्मा यात्राको अनुभूति उतार्न व्यस्त थिएँ ! अचेल फुटकर लेखन छ सामान्य ।
२. तपाईंले लेख्दै गरेको पुस्तक किन पढ्ने ?
– लेखकले निकै कुरा मनन गरेर लेखेको हुन्छ । उडन्ते र गनगन मात्र लेखनको विषय बन्दैन । म समाजका असहज र जटिल प्रसङ्ग मार्फत त्यस्तै पात्र र चित्र स्वरूप उतारिरहेको हुन्छु । पाठकलाई साहित्यसँग समय, राजनीति, संस्कृति र भूगोल पढाउने मेरो चेष्टा हो । यो अनुभूतिका निमित्त पनि पाठक मसँग जोडिन सक्छन् ।
३. पाठकहरू कस्तो साहित्य खोजिरहेका छन् ?
– पाठकसँग अनन्त इच्छा हुन्छ । पाठकले विविधता खोजिरहेका हुन्छन् । अनेक पक्षसँग जानकार सबै लेखक नहुन सक्छन् किनभने असीमित ज्ञान, सूचना र जानकारी एउटा लेखकको पहुँचमा हुन्छ भन्नु दम्भ हो, फुइँ हो । सबै पाठकको मनोभावअनुसार कुनै पनि लेखकले लेख्न सक्दैन । सृजना पनि त्यस्तै हो । मेरै कुरा गर्ने हो भने धेरैले नियात्रा मन पराएका छ्न् । कतिले निबन्ध मात्रै खोजेका छन् । तर सबै खाले पाठकप्रति न्याय, सम्मान र आदर गरिरहन सकूँ भन्ने मेरो चेष्टा छ । आजको व्यस्तताअनुसार पाठक र लेखकको सम्बन्ध एक खालको शीतयुद्धपूर्ण छ ।
४. साहित्यमा भित्रिएको विकृतिबारे तपाईंको धारणा ?
– विकृति समाजका सबै पक्षमा विद्यमान छ । साहित्य पनि त्यसबाट उम्किन सकेको छैन । खुल्ला सञ्चार र प्रविधिका कारण साहित्य लेखन पनि अलि फितलो भइरहेछ । त्यो फितलोको कारण राम्रा कृतिहरू कमजोर भइरहेका छन् । विकृति धेरै खाले छन् । तिनलाई समयले निराकरण गर्दै जान्छन् । एउटा निष्ठावान, प्रतिबद्ध र समर्पित साधकलाई मसिना–मसिना कुरा र प्रभावले छुँदैन । ती लेखकका छेउसम्म आई नै पुग्दैनन् । लेखकको सृजना शक्तिले अरु विकृति किनारा लागेर जान्छन् ।
युवराज नयाँघरे
५. अहिलेको युवा पुस्ताको लेखनलाई कसरी हेरिरहनु भएको छ ?
– युवा पुस्ता सधै ऊर्जावान् हुन्छन् । अझ हिजोआजका युवाहरू प्रविधि र सञ्चारको अवसर पाएर छिटै सफलतातिर लम्कन सकिरहेका छन् । त्यो सुखद् कुरा हो । हिजोका लेखकहरूका निमित्त बर्सौं अनुभव गर्न लाग्ने समय हुन्थ्यो । तर आजका युवाहरुमा त्यो वातावरण चाँडो र सहज पनि छ । उनीहरूले नयाँ–नयाँ विषयवस्तु, प्रस्तुति र अन्य दिन सकिरहेका छन् । सँगसँगै एउटा विकृति पनि देख्छु । अघिल्लो वर्ष राम्रो कविता, कथा र निबन्ध लेखेको एउटा तन्नेरी लेखक अर्को वर्ष विदेशमा सरिसकेको हुन्छ । लेखनसँगै समयको समर्पण अर्को कुरा हो । जतातिर पनि आजको पुस्ताले नदीको छालजस्तो भन्दा पनि ढुङ्गाको अक्षरमा टिक्ने चेष्टालाई भुल्नु हुँदैन ।
६. नपढी नहुने पुस्तक ?
– कुनै त्यस्तो खास एउटा छैन । ज्ञानका निम्ति अनेक ग्रन्थ, कृति, रचना पढ्नु राम्रो हो ! एउटा रचनाबाट त्यो पाइन्न । लेखककै कुरा गर्ने हो भने झन्डै–झन्डै त्यस्तै अवस्था हुन पुग्छ । देवकोटा, रिमाल, कृष्णचन्द्र , तारानाथ, पारिजात मात्रै पढेर पुग्दैन । ध्रुवचन्द्र, माधव घिमिरेसँगै हिजोआजका अझै गरुँगा लेखकका ग्रन्थ पढ्दा एउटा पूर्णता होला । सम्पूर्णता भने हुँदैन । तर मैले बि.पी.का धेरै कृति पढ्दा एउटा ठूलो आकाश पाएको छु ।
७. तपाईंलाई कस्ता पुस्तक लेखियोस् जस्तो लाग्छ ?
– लेखन आफैंमा एउटा तपस्या हो । लेखनले हृदय, प्रकृति र बौद्धिकताको परिवेश खोजेको हुन्छ । हृदयसँग कोमलता, प्रकृतिसँग सभ्यता र संस्कृति, बौद्धिकतासँग विज्ञान र तर्कले ठाउँ खोजेका हुन्छन् । नेपाली समाजमा द्वन्द्वको सामाजिक अध्ययन गरेर पुस्तक लेखिएको लाग्दैन । त्यतातिर कलम चलाउन जरुरी छ । द्वन्द्वको त्यस दुर्दान्त पक्ष साहित्यमा आओस् भन्ने मेरो चाहना हो ।