राजकुमार थिएँ म
शहरबाट सुदूर गाँउको
कुनै दन्त्यकथामा झैँ
म निस्किएको थिएँ सिकार गर्न
जङ्गली पतकरहरूले कम्पोज गरेका संगीत
यात्रारत थिए म सँगै
चराहरूको चिर्बिराहटले ठुँगिरहेको थियो
मेरो छाति
बाटोका दुई किनारमा लेख्दै थिए जङ्गली फूलहरू
श्रवण मुकारूङ्गको कबिता !
एउटा कबितालाई चुडेँ
अकस्मात् गायब भयो जङ्गल र शहर बन्यो !
२।
सैनिकहरू बन्दुक बोकेर आए
सहरमा ,
'पृथ्वी नारायण शाह...
पृथ्वी नारायण शाह...' फलाक्दै आए(महेन्द्रको प्रेत
उर्दी जारी भयो-
'तैले हाम्रो बाजेले आर्ज्याको मुलुकमा बौलाउन मिल्दैन'
र अपराधी करार गरे बिसे नगर्चीलाई !
सैनिकहरूले लगालग दागे सात गोली
बिसेको नगर्चीको छातिमा
'नेपाली झण्डा बोकेकोु नवराज बिक झै डङ्गरङ्ग ढल्यो ऊ !
श्रवण मुकारूङ्ग अहिले उभिएको छ
बिसे नगर्ची र अजित मिजारको लासनेर !
३।
प्रिय ! पाठक,
तपाईलाई लाग्दो हो-
शहरबाट सुदूरको त्यो राजकुमार को हो ?
त्यसले किन चुड्यो जङ्गली फूलको कबिता ?
मलाई भने यदाकदा लाग्ने गर्छ
-श्रवण मुकारूङ्गको त्यस्तो कुन कबिता थियो
जसलाई चुडनासाथ शहर बन्यो ?
-नवराजाहरूले किन फलाके पृथ्वी नारायण शाह ?
र बिसे नगर्चीलाई चै किन दागियो सात गोली ?