बालकविता
भाले करायो
– रमेशचन्द्र घिमिरे
‘कुखुरी काँ’ गरेर रातो भाले करायो
त्यो भालेको स्वर सुनी कान्छो भाइ डरायो
सस्तो पाई महङ्गोमा बेच्न लान हो या
अल्लि ठूलो भएपछि काटी खान हो या
केको आँट गरेर ल्याउनुभयो बाले
जे भए’नि हाम्रो घरमा आयो रातो भाले
साँझ पर्दा आउँछ दिउँसो कता जान्छ–जान्छ
छरिएका कनिका र चामल दाना खान्छ
त्यो भालेले यतिसम्म गर्छ काम ठिक्क
तर फोहोर बिस्ट्याउँदा पो लाग्छ साह्रै दिक्क
“भाले किन ल्याइयो त नि ?” सोधेँ बाबासँग
बाको उत्तर सुनेपछि परेँ म त दङ्ग
भन्नुभयो बाले हिजो “मै गएर ल्याएँ
तिम्रो हातमा घडी छैन, त्यै भएर ल्याएँ”
ढिलो उठ्ने बानी थियो छिटै उठ्ने गरायो
कुखुरी काँ गरेर रातो भाले करायो ।
– भोर्लेटार, लमजुङ