पाेखरा । नेपालका आदिवासी जनजाति साहित्यकारहरूको साझा संस्थाका रूपमा ‘आदिवासी जनजाति साहित्यकार महासङ्घ, नेपाल’को तदर्थ समिति घोषणा गरिएकाे छ । राज्यका सबै खाले निरङ्कुशता, प्रतिगमन वा अधिनायकवादका विरुद्ध अझ शक्तिशाली आन्दोलनसहित प्रतिरोध गर्ने महान उद्देश्य सहित आख्याकार राजन मुकारुङकाे संयोजक्तवमा आदिवासी जनजाति साहित्यकार महासङ्घ नेपालकाे तदर्थ समिति गठन गरिएकाे हाे ।
समग्र विश्व राजनीतिक अवस्थामा आज पनि अधिकांश आदिवासी/जनजातिहरू आफ्नो हक, अधिकार र पहिचानका लागि आन्दोलनरत छँदै छन् । मानव अधिकारको निम्नतम हकका लागि पनि आन्दोलन गर्नुपर्ने बाध्यता हाम्रो मुलुकमा त झनै भयावह रहकाे समितिले ठहर गरकाे छ । विकासका नाममा आदिवासीय सम्पदाहरू मास्ने काम राज्यकै अग्रसरतामा भइरहँदा झनै आन्दोलित हुनु परेको भन्दै समितिले मुलुकको राजनीतिक परिवर्तनका आन्दोलनहरूमा आम आदिवासी जनजाति समुदायले ठूलो वगावत गरे पनि उनीहरूले वर्षौंदेखि उठाइरहेको पहिचानसहितको सङ्घीयता र समावेशी सिद्धान्त (पूर्ण समानुपातिक)का मागहरू सुनुवाइ भएको छैन । संविधानतः नेपाल धर्मनिरपेक्ष मुलुक हो, भनेर लिखित गरिए पनि व्यवहारतः लागू भएको छैन । शिक्षा र स्वास्थ्य क्षेत्र जनताको मौलिक हक भए पनि दलाल व्यापारीहरूको कब्जामा छ, यो विभेदकारी छ । यसले अभिजात वर्ग र जातिहरूको मात्रै पक्ष लिइरहेको छ । प्राथमिक तहदेखि विश्वविद्यालयसम्म एकल जाति, खास गरी ‘हिन्दू सौन्दर्य’ र ‘आर्य सभ्यता’को मात्रै पाठ्यक्रममा भाषा–साहित्य पढाइएर राज्यले नै विविधताको संस्कृति र सौन्दर्यलाई अस्विकार गरिरहेको छ । नेपालका आदिवासी जनजातिहरूका लागि राज्य जहिल्यै प्रतिगामी छ । यसका विरुद्ध हामीले जहिल्यै प्रतिरोध गरिरहेका छँदै छौं । राज्यका सबै खाले निरङ्कुशता, प्रतिगमन वा अधिनायकवादका विरुद्ध अझ शक्तिशाली आन्दोलनसहित प्रतिरोध गर्दै आदिवासी जनजाति समुदायका भाषालाई जोडदार रूपमा लेखन गर्न तथा तिनका मौखिक साहित्यसमेतलाई लिखित गर्न, गराउन सम्बन्धित जाति, समुदायका स्रष्टाहरूलाई उत्प्रेरित गर्ने र सो कार्यमा अग्रसर हुन समितिले काम गर्ने संयाेजक मुकारूङले जानकारी दिए ।
,
आदिवासी जनजाति समुदायमा रहेका मौखिक परम्पराका दर्शनशास्त्रहरूलाई मिहिन ढङ्गले बुझ्न, बहस गर्न र लिखित गर्न, नेपाली भनिने गरिएको ‘खस पर्वते भाषा र साहित्य’लाई नेपाली हो भन्ने कथनका विरुद्ध बहस गर्दै नेपालका सबै मात्रृभाषा तथा तिनका साहित्यलाई ‘नेपाली हो’ भन्ने मान्यता स्थापित गराउन तथा विविधतासहितको नेपाली सौन्दर्य शास्त्रको निर्माण गर्न समितिले काम गर्न अर्थ समिति विभिन्न राज्य समिति र अन्तराष्ट्रिय समिति निर्माण गरेर प्राथमिक तहदेखि विश्व–विद्यालयसम्मै मातृभाषा तथा साहित्यको पाठ्यक्रम निर्माण गर्न राज्यलाई दबाव दिन र विश्वभर भएका, भइरहेका आदिवासी जनजाति अभियानहरूसित घनीभूत बहस गर्दै पहिचानको आन्दोलनलाई एकीकृत बनाउन पहल गर्ने सारङ्गी कर्मी तथा सदस्य राम गोपाल आँसुतोषले जानकारी दिए ।
नेपालका आदिवासी जनजाति साहित्यकारहरूको साझा संस्थाका रूपमा रहने ‘आदिवासी जनजाति साहित्यकार महासङ्घ, नेपाल’को तदर्थ समितिमाकाे संयोजकमा राजन मुकारुङ र सह–संयोजकद्वयमा सरस्वती प्रतीक्षा र टंक सेलिङ चयन भए । त्यस्तै समितकाे सचिवमा बुद्ध योञ्जन लामा । आर्थिक संयोजकमा उर्मिला गम्बा थारु ले जिम्मेबारी पाएका छन् ।
समितिकाे सदस्यहरूमा अञ्जना इछमफूल,अनन्त दुनुवार,उत्तम सुनुवार, कविराज तामाङ , कुन्साङ , कृष्ण मेचे, कृष्ण सर्वहारी,गणेस कुमाल, गौरी तमू,चोमु शेर्पा खुशी,तेजेन्द्र ताजपुरिया,निशा रुम्बा ,नेपोलियन चेपाङ, फुर्बाछिरिङ तङ्बे,बेचन उराव, भिम किसान,मङ्गलराम दराई,मेनुका छन्त्याल, रजनी मिला,राम गोपाल आँसुतोष,लाक्पा तेन्जी शेर्पा,लालबहादुर भुजेल,डा. विष्णु सिँजाली
,सन्त माझी ,सरोजसिंह दुनुवार, डा. सोमबहादुर धिमाल,सीता तुम्खेवा, हेन्सेन याक्खा र हेमा आले चयन भएका छन् । भने राज्य समिति संयोजक हरूमा क्रमश शोभा सुनुवार (कोइँच),ईश्वर थोकर (ताम्सालिङ),गनेसकुमार राई (किरात), छम गुरुङ (तमुवान),छविलाल कोपिला (थरुहट), जीवन रोका मगर (मगरात),मधु केरुङ (लिम्बुवान) र नेवाः राज्यकाे संयाेजकमा शाक्य सुरेनले भुमिका निभाउने छन् ।
त्यस्तै अन्तर्राष्ट्रिय समिति संयोजकहरूमा अमित थेबे (बेलायत) इन्दिरा चाम्लिङ (युरोप) ,उदय पुर्बेली (मलेसिया) ,केशर घलान (कुवेत),चन्द्र गुरुङ (बहराइन),जसकुमार राई (अमेरिका),नरेश सुनुवार (हङकङ),पराजीत पोमू (दक्षिण कोरिया), बिमल राई (कतार),योग राई (अस्ट्रेलिया), विमन किराती (जापान),सुमन सहयात्री (साउदी अरबिया), सुरज राना (युएई) र सुशिल पुन बिरही (ओमान) चयन भएछन् ।