पोखरा । कलाकार धनबहादुर गायकको सोमबार निधन भएको छ । सारङ्गी र मादलका कुशल वादकका रुपमा परिचित उनी पोखराको बाटुलेचौरमा बस्दै आएका थिए ।
खोलामा नुहाउने क्रममा लडेकपछि मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचारकै क्रममा सोमबार बिहान ८ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी उच्च रक्तचापका बिरामी थिए ।
नरोऊ मायालु…, बेली र चमेली…जस्ता चर्चित गीतका सङ्कलक धनबहादुर आमा चदर र बुबा बखतबहादुरका सन्तानका रुपमा वि. सं. २०२१ वैशाख ६ गते जन्मेका हुन् । पोखरेली युवा सांस्कृतिक परिवारका सङ्गीत संयोजक भएर काम गरिसकेका उनले पछिल्लो समय झलकमान सङ्गीत पाठशालाका माध्यमबाट बालबालिकाहरुलाई निःशुल्क सारङ्गी सिकाउँदै आएका थिए । सारङ्गी संरक्षणका लागि उनको अभियानलाई सङ्गीतप्रेमीहरुले निकै महत्त्वका साथ लिने गरेका छन् ।
उनका छोरा दिलिप गायक पनि साङ्गीतिक क्षेत्रमै क्रियाशील छन् ।
सारङ्गी न्युज डटकम परिवारका तर्फबाट दिवङ्गत धनबहादुर गायकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा हार्दिक समवेदना ।