काठमाडौँ । कवि एवम् आख्यानकार ममता मृदुलको तेस्रो उपन्यास सार्वनजिक भएको छ । कार्यक्रमका प्रमुख अतिथिद्वय नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति जगमान गुरुङ र वरिष्ठ साहित्यकार पद्मावती सिंहले सो उपन्यासको सार्वजनिक गरेका हुन् ।
प्रमुख अतिथि जगमान गुरुङले साहित्यमा लालित्य हुनुपर्ने जिकिर गरे । काव्यशिल्पले मानिसमा जिउने कलाको विकास हुने भन्दै कुनै पनि समाज र राष्ट्रको अध्ययन गर्नेले त्यहाँको साहित्यको अध्ययन गर्ने भएकाले लेखकले समाजका विविध आयाम, इतिहास र वर्तमानको अध्ययन गर्नुपर्ने विचार व्यक्त गरे । त्यस्तै अर्का प्रमुख अतिथि पद्मावती सिंहले कथा वा उपन्यासमा पात्र र तिनको चरित्र चित्रण महत्वपूर्ण हुने भएकाले आफूले ती पात्रको चिन्तन र चरित्रको अध्ययन गर्नु अपरिहार्य भएको धारणा अघिसारिन् । आफ्नो ५० वर्षे लेखनयात्राको अनुभवका आधारमा लेख्दै जाँदा तिखारिने, निखारिने र लेखन परिमार्जित हुँदैजाने भन्दै अहिले नै आत्तिहाल्नुपर्ने जरुरी नभएको विचार व्यक्त गरिन् ।
कार्यक्रममा वरिष्ठ साहित्यकार बेञ्जु शर्माले मृदुलको उपन्यासले मानवीय मनोविज्ञानभित्र छिरेर लेखेकामा खुशी व्यक्त गरे । वरिष्ठ लघुकथाकार श्रीओम रोदनले सिर्जना हतारको यात्रा नभएकाले लेख्दैजाँदा परिष्कृत हुने विचार व्यक्त गरे । उनले भने, "लेख्नु भनेको सिक्नु नै हो ।" अर्का वक्ता समालोचक डा. धनप्रसाद सुवेदीले उपन्यास प्रेम, विवाह र यौन विषयलाई केन्द्र बनाएर लेखिएको बताए । समाज र मानवीय विषयकेन्द्रीत औपन्यासिक पात्र, चरित्र चित्रण र तिनका भोगाइ प्रस्तुतगरेको र कथा वाचनमा कमीकमजोरी रहे पनि भविश्यमा परिमार्जन हुने विश्वास व्यक्त गरे । उनले बजारमा टिक्ने र बिक्ने उपन्यासको धार र विषय फरक हुने भएकाले अब आउने उपन्यास युग र तत्जन्य यथार्थपरक विषयमा लेख्न सुझाव दिए । अनुसन्धान गरेर लेखे सफल र टिकाउ हुने विश्वास ब्यक्त गरे । अर्का वक्ता श्रष्टा समाजका अध्यक्ष विधान आचार्यले साहित्यमा नियोजन नहुने विचार व्यक्त गरे । उपन्यासमा चित्रित पात्रहरू औपन्यासिक नभएर समसामयिक समाजमा सामाजिक परिस्थिति र परिवेश भोगिरहेका आम नागरिक भएको जिकिर गर्दै मृदुल भविश्यमा अब्बल उपन्यासकार हुने विश्वास पोखे !
कार्यक्रममा उपन्यासका लेखक ममता मृदुलले आफू सिकाइ कै क्रममा नै रहेको बताइन् । समालोचकले भनेजस्तो उपन्यास लेख्न नसक्ने । आफ्नो सीमा र क्षमताका कारण देखेको लेख्ने र जानेको गर्ने बानी भएकाले आफ्नो लेखन भावनाको तहमा हृदयको आवाज भएको जिकिर गरिन् ।
उपन्यास समाज नेपालद्वारा आयोजित सो कार्यक्रममा शंकर भारती र अन्य वक्ताहरूले आफ्ना विचार व्यक्त गरेका थिए ।