बालकविता
होलीको रमाइलो
- शान्ता बास्तोला
रङै रङ भरिएको आयो फेरि होली
पिच्किरीले धारा कुवा रङ्गीन भा'छ खोली
दिनु दाज्यै एउटा बेलुन पानी भर्न पर्यो
अशोक भाइले रङ्ग छ्यापी गर्नसम्म गर्यो
पल्लो गाउँमा खेल्दै गा'को गोबर हान्या देखेँ
प्याकुलीलाई रङ दल्नलाई यतै तान्या देखेँ
कसैले त बोक्दा रै'छन कुखुराको फुल
रङ मात्रै बोक्ने म त परेँ रनभुल
रमाइलो चाड हो होली मनाउनुपर्छ
तर पनि सुहाउने बनाउनुपर्छ
गोबर अन्डा केही होइन, खेलौँ रङले मात्रै
होली होली भन्दै कोहीले नगरौँ है जात्रै ।
दमौली, तनहुँ