आश्मा अर्याल
सर्वप्रथम त अपाङ्गता भएका व्यक्तिहरूको २९औ अन्तरास्ट्रिय दिवसको अवसरमा हामी सबैलाई शुभकामना। किनकि अब समावेशी अनि समतामूलक समाजको निर्माण बिना हामी आफ्नै लागि पनि न्यायको कल्पना गर्न सक्दैनौं, अधिकारको अनुभव गर्न अनि आफ्नै अस्तित्व बनाउन सक्दैनौं। मलाई थाहा छ, म अपाङ्गता भएकी व्यक्ति हुँ। मलाई मेरो अधिकार, अवस्था र क्षमताको बोध छ, र म आफ्नै स्वाभिमानमा रमाइ पनि रहेकी छु। अनि सायद यहि कारण म अपाङ्गता भएका व्यक्तिहरूको अन्तरास्ट्रिय दिवसको यो अवसरमा आफ्ना कुराहरू अभिव्यक्त गर्न सक्छु र गरिरहेकी छु।
मलाई आजको दिनमा केही प्रश्नहरू पनि उठाउन मन छ: हाम्रो नेपालमा कति प्रतिशत अपाङ्गता भएका व्यक्तिहरूलाई आजको यो विशेष दिनबारे थाहा होला? थाहा पाएकाहरू मध्ये यो अवसरमा सहभागी हुनेहरूको प्रतिशत नि? अनि यो दिवस आउँदा चाड आएजस्तै महसुस गर्नेहरू कति होलान्? मलाई चाहिँ साच्चै भन्नुपर्दा मैले यहाँ उल्लेख गरेका यी प्रश्नहरूको आधिकारिक उत्तरबारे केही पनि थाहा छैन। हो, अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क र भएका केही अनुसन्धानका कुराहरू सुनेकी छु, तर मैले माथि उठाएका प्रश्नहरूमा केकस्ता बहसहरू भएका छन् छैनन् त्यो मलाई थाहा छैन।
तर मैले आफ्नो अपाङ्गता र अधिकारको बारेमा जान्न नपाउदै घरभित्रै बन्दी र दास भएका अनि अति सुरक्षाको घेराभित्र या त अति घृणाको कोठरीमा रहेका अपाङ्गता भएका व्यक्तिहरू भने धेरै भेटेकी छु। प्रतिभा भएर पनि अवसर नपाएकाहरूको निराशा देखेकी छु, अनि आफैंले पनि हाम्रो समाजको सहानुभूति, औपचारिकता र नाम मात्रका आदर्शवादी व्यवहारहरूसङ्ग पटकपटक सामना गरेकी छु l यहाँ यी कुराहरू उठाइरहदा मैले गौरवपूर्ण ईतिहास लेख्न सफल अपाङ्गता भएका व्यक्तिहरूलाई बिर्सिएकी छैन। वास्तवमा तिनीहरूले अध्यारा मनहरूमा बालेको चेतनाको दियालोकै कारण हाम्रो आज उज्यालो छ। त्यसो त हामीसङ्ग कानुन, अधिकार र गतिशील समय पनि छ।
तर अझै पनि हामीमध्ये धेरै आफ्नो लागि न्याय माग्न र आवश्यक पर्दा अरूका निम्ति बाच्न त्यति तयार हुँदैनौ।ं न्याय बिनाको कागजे अधिकारको कुनै अर्थ हुँदैन भन्ने बुझेर पनि हामीमध्ये धेरै मात्र अधिकारकै भाषण गरिरहेका हुन्छौं, मात्र नारा लगाइरहेका हुन्छौं। "बिदेशतिर त कहाँ यहाँजस्तो हो र! बाबुआमाले आफ्नो बच्चालाई गाली गर्न पनि पाउदैनन्" भन्दै कुरा गर्ने हामी यहाँ कति सजिलै भनिदिन्छौ, "अभिभावकले नै नबुझेपछि के गर्नु त!" हामी सबैले बुझ्नैपर्ने कुरा के हो भने, सचेत र सक्रिय नागरिक समाज बिना न कानुनको अर्थ स्थापना हुन सक्छ न त त्यसको प्रभावकारी कार्यान्वयन या त्यसमा आवश्यक्ता अनुसारको संसोधन नै हुन सक्छ।
त्यसैले अपाङ्गता अधिकारको रूपमा बनेका कानुनहरूलाई अब हामीले जिउन र अनुभूत गर्न सकिने न्यायमा बदल्नु आवश्यक छ। जसले आफूलाई चिनेको छैन, जसलाई घरपरिवार र आफ्नाहरूले अपाङ्गता भएकै कारण दबाएर या लुकाएर राखेका छन्, अब हामीले त्यसता व्यक्तिहरूको खातिर पनि बोल्नु छ अनि लड्नु छ। यसका लागि हामी सबैभन्दा पहिले आआफ्ना सिमानाहरू पार गरेर चिन्तनको फराकिलो चौरमा जम्मा हुनु छ, र बनाउनु छ साथको पहिलो कदमस्वरूप मानवताको साङ्लो।