काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षसम्म केपी ओलीलाई तह लगाउन नसकेकोमा आत्मालोचना गरेका छन् ।पार्टीद्वारा राजधानीमा आयोजित प्रदर्शनपछिको सभामा बोल्दै उनले राजा महाराजालाई फाले पनि ओलीविरुद्ध उदाररुपमा प्रस्तुत हुनु आफूहरुको कमजोरी भएको बताए ।
प्रचण्डले भने, ‘हामीले जनयुद्ध र जनआन्दोलनमार्फत गौरवपूर्ण परिवर्तन हासिल गरेका थियौं । राजा महाराजाको श्रीपेच झिकेर लात्तले हान्न सक्छन् भन्ने प्रमाणित गरेका थियौं । तर देशलाई प्रगतितर्फ लैजाने सपना तीन वर्षमा पुुरा गर्न सकेनौं ।’‘मैले सोचेको थिएँ पार्टी एकतापछि र दुई तिहाई ल्याएपछि घोषणापत्रमा भनेजस्तै सबै क्षेत्रमा न्यायको नयाँ युग सुरु हुनेछ । सुशासन र पारदर्शीताको नयाँ युग सुरु हुनेछ । सबै उत्पीडितले राहत पाउनेछन् । हामीले घोषणापत्र जस्तै गर्न नखोजेको पनि होइन । तर सुरुदेखि अभाष भएको थियो, केपीजीले सहमति गर्ने तर कार्यान्वयन एउटा पनि नगर्ने हुन् कि भन्ने’ उनले भने, ‘सत्ता प्राप्तपछि सहमतिअनुसार एउटा पनि काम नगर्ने लक्षण देखिएको थियो । हामीले त्यसका विरुद्ध बहस गरेका थियाै । आज के भन्न चाहन्छु भने हामीले यो तीन वर्षमा केपीलाई तह लगाउन सकेनौं । केपीलाई सम्झाई–बुझाई गरेर उदारतापूर्व उहाँका कतिपय कुरा मान्दा देश अगाडि जाने हो कि भनेर सोच्यौं । त्यो तरिकाले केपी ओली प्रवृत्तिलाई ठिक गर्न सकिने रहेनछ ।’
उनले थपे, ‘सुरुदेखि केपीको गलत प्रवृत्तिका विरुद्ध संघर्ष गर्नुपथ्र्यो, सकिएन । म आज आत्मालोचित हुन चाहन्छु । आज पार्टीभित्रका सहमति मात्रै होइन, देशको संविधान र लोकतान्त्रिक गणतन्त्रै नमान्ने काम भयो । अब केपी ओलीलाई मात्रै दोष दिएर चोखै हुँदैनौं हामी । अब म जनतालाई साक्षी राखेर प्रतिज्ञा गर्छु कि अब केपी प्रवृत्तिप्रति उदार भएर भित्रभित्र संघर्ष गर्ने तर, प्रवृत्तिलाई अगाडि बढ्न दिने भुल गर्ने छैनौं । त्यसो गरेर फाइदा हुँदो रहेनछ । त्यतिबेलै संघर्ष गरेको भए बेलैमा नांगिन्थे कि भन्ने फर्केर हेर्दा लाग्छ । तर हाम्रो कमजोरीलाई, उदारतालाई कमजोरी ठान्ने जुन दुस्साहस उनले गरे, त्यसले हामी तपाईहरुको अगाडि आउन वाध्य भयौं ।’
ओलीले अब शान्ति प्रक्रिया पनि विघटन गर्न खोजेको दावीसमेत प्रचण्डले गरे । ‘खबरदार केपी ओली, जनताले अब त्यसका लागि छुट दिने छैनन् ।’ उनले भने ।आजको जनसागर निर्वाचन आयोग र अदालतले राम्रै देखेको उनले टिप्पणी गरे ।