पोखरा । राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य विष्णु पुनले पार्टी एकतापछिका ३ वर्षमा सकारात्मक काम केही हुन नसकेको बताएका छन् ।
सङ्घको पोखरा महानगरपालिका वडा नम्बर १५ को युवा भेलामा बोल्दै पुनले नेताहरुको पिछलग्गु हुने प्रवृत्ति हावी भएकाले सङ्गठनभित्र पनि अराजकता निम्तिएको धारणा राखे ।
"सङ्गठनको काम, गतिविधि तथा आन्दोलनमा कुनै सहयोग नगर्ने तर नेताको पछि लागेर नेता हुने र सङ्गठनलाई नीति, विधि र प्रक्रियाबाट नभै हुलहुज्जत र दबाबबाट नेतृत्व स्थापित गर्ने अराजक प्रवृत्ति हाबी भयो ।" कास्की जिल्ला इन्चार्जसमेत रहेका पुनले भने, "यस्ता प्रकारका गलत प्रवृत्तिको विरुद्ध युवाहरु सधैँ सङ्घर्षको मैदानमा खटिरहने छौँ ।"
सङ्गठनमा नवअवसरवादी र उपयोगवादीहरुको चलखेल बढेको बताउँदै महाधिवेशन पछि सबै खाले अराजक्त्ता र पिछ्लग्गु प्रवृत्तिको अन्त्य कार्यकर्ताले नै गर्ने बिश्वास पुनको भनाइ थियो ।
भेलालाई नेपाल कम्युनिस्ट पार्टी पोखरा महानगर कमिटी अध्यक्ष दीपक पौडेल, युवा सङ्घ नेपाल कास्कीका पूर्व अध्यक्ष दर्शन लामा, युवा नेता दिलिप न्यौपाने, तोरन बानियाँ र नवीन गुरुङले शुभकामना दिएका थिए ।
भेलाले पुनः पूर्ण गुरुङको नेतृत्वमा आगामी २ वर्षका लागि २१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
युवा सङ्घ नेपाल पोखरा महानगर कमिटिका सहसचिव खगेन्द्र छेत्रीका अनुसार उपाध्यक्षमा राजु गुरुङ, सचिव नवीन भुजेल, सहसचिव सन्तोष विश्वकर्मा, कोषाध्यक्ष उमेश बिस्कुने र सदस्यहरु नसिब भण्डारी, पूर्णबहादुर गुरुङ, क्षितिज थापा, साजुराम परियार, रन्जिता रानाभाट, राजकुमार तामाङ, बुद्ध गुरुङ, विक्रम छेत्री, आशिष गुरुङ, नानुमाया नेपाली, पुनम थापा, रामचन्द्र परियार, सरोज गुरुङ, जीवन गुरुङ, राजसिंह जलारी, दीपक परियार रहेको २१ सदस्यीय कार्यसमिति चयन गरी भेला सम्पन्न भएको छ ।