पोखरा । विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९, कोरोना भाइरसका कारण हरेक क्षेत्र प्रभावित भइरहेका बेला कास्कीको रुपा गाउँपालिकाले भने कुनै पनि विकासका काम नरोकिने जनाएको छ ।
आर्थिक वर्ष २०७७/०७८ का योजनाहरुको सम्झौता, कार्यान्वयन तथा फरफारखसम्बन्धी स्थानीय उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखीकरण गर्न वडा नं. २ मा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले महामारीका बिचमा पनि विकास निर्माणका कामहरुलाई अघि बढाइने बताए । सङ्क्रमण छ भन्दैमा हरेक क्षेत्र ठप्प बनाएर समस्याको समाधान नहुने तर्क गर्दै अध्यक्ष ओझाले सतर्कता अपनाउँदै अघि बढ्नुपर्ने आजको आवश्यकता भएकोमा जोड दिए ।
रुपा गाउँपालिकाका सबै योजनाहरु आगामी चैतभित्रमा सम्पन्न भइसक्नुपर्ने भन्दै ओझाले पारदर्शी र गुणस्तरीय ढङ्गले कार्य गर्न उपभोक्ता समितिहरुलाई आग्रह गरे । उनले कुनै पनि योजना सञ्चालन तथा सम्पन्न गर्दा कसैलाई चिया खर्चका नाममा १ रुपियाँ पनि नदिन उनको आग्रह थियो । उनले भने, "हामी पनि १ रुपियाँ हिनामिना गर्दैनौँ र कसैलाई हिनामिना गर्न पनि दिँदैनौँ ।" वडा नं. २ को शिवचण्डी मोटरबाटोलाई गण्डकी प्रदेश सांसद् दीपक कोइरालामार्फत् २० लाख रुपैयाँ र गाउँपालिकाबाट १० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिँदै हिउँद बर्खा नै सञ्चालन हुने गरी स्तरोन्नति गरिने जनाए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुङ्गाना, लेखा अधिकृत ज्योति गुरुङ, इन्जिनियर सन्तोष पौडेल, योजना शाखा प्रमुख अरुण अधिकारीलगायतले प्रशिक्षण दिएका थिए । वडा नं. २ की कार्यवाहक अध्यक्ष हिता रुपाखेतीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सचिव राजेन्द्र सुवेदीले स्वागत गरेका थिए ।