बरेङ । बागलुङको बरेङ गउँपालिकाले “प्रहरी सँग एक दिन विद्यार्थी कार्यक्रमका” लागि इलाका प्रहरी कार्यालय बरेङ डाँडासँग समझदारी गरेको छ । बरेङ समाज, सभ्य समाज निर्माणका लागि सोमबार दुवै पक्षका प्रमुखहरुले पालिका अध्यक्षको रोहवरमा संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
गाउँपालिकाको आर्थिक सहयोगमा “सुरक्षा विकासको पूर्व सर्त हो र विकास सुरक्षित समाजको आधार हो” भन्ने नारालाई मनन् गर्दै सामुदायिक प्रहरी सेवाको अवधारणा अनुरुप बरेङ गाउँपालिका र इलाका प्रहरी कार्यालय बरेङडाँडाबीच प्रभावकारी समन्वय र सहकार्यबाट स्थानीय विकास, सेवा प्रवाह र सुरक्षालाई एकीकृत रुपमा अगाडि बढाउने बृहत्तर सोचका साथ समुदाय प्रहरी साझेदारी निर्माण गर्नका लागि आज समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
राष्ट्रिय विकासको लागि आवश्यक जनशक्ति तयार गर्न तथा सर्वधारण जनताको सदाचार, शिष्टाचार र नैतिकता कायम राख्न पालिकाभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा शान्ति, सुरक्षा एवं सुव्यवस्थाका विषयमा जीवन उपयोगी शिक्षा हासिल गराउन वाञ्छनीय भएकाले प्रहरी सँग एक दिन विद्यार्थी कार्यक्रमको सञ्चालन गर्न समझदारी गरिएकोे पालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो । हिजोको दिनमा पनि हामीले नगरेको त होइन अहिले विद्यालय तहबाट शिष्टता सिकाउनका लागि समझदारी गरि कार्यक्रम गर्न लागिएको हो “अधिकृत थापाले” भन्नुभयो ।
कार्यक्रमले शान्ति, सुरक्षा र व्यवस्थालाई सु–व्यवस्थित गर्न, विद्यार्थीलाई असल र जिम्मेवार नागरिक बनाउन, नैतिक शिक्षा दिन, लागूपदार्थ दुव्यर्सन निराकरण गर्न, सामाजिक सञ्जालको दुरुपयोग, विद्युतीय अपराध नियन्त्रण, ट्राफिक सचेतना, घरेलु मदिराजन्य पदार्थलाई निरुत्साहित गर्न, सडक दुर्घटना कम गर्न “जोखिमपूर्ण यात्रा बहिष्कार, हाम्रो सुरक्षाको आधार” नाराको विद्यालयस्तरबाट नै कार्यान्वयन गर्न, विपद् व्यवस्थापन सम्बन्धी खोज, उद्धार, राहत तथा पुनःस्थापना सम्बन्धी जानकारी गराउन, अपराध रोकथाम, सामाजिक विकृति विसङ्गति विरुद्ध जनचेतना जगाउन, सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि मार्फत सामुदायिक सुरक्षालाई प्रत्याभूत गर्ने उद्देश्यका साथ पालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ८ देखि १२ सम्मका र सर्वोदय क्याम्पसका विद्यार्थीहरुका लागि सचेतना कार्यक्रम गर्न समझदारी गरिएको पालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो ।
गाउँपालिका, ईलाका प्रहरी कार्यालय र शैक्षिक संस्थाको छुट्टाछुट्टै भूमिका रहने गरि इलाका प्रहरी कार्यालयको तर्फबाट प्रहरी निरीक्षक लक्ष्मण देवकोटा, गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत रमेश थापा र पालिका अध्यक्ष कृष्णप्रसाद शर्माको रोहवरमा संयुक्त रुपमा समझदारी पत्रमा हस्ताक्षरमा गरिएको छ । उक्त कार्यक्रमको समयावधि २०७७ चैत्र मसान्तसम्म हुने बताइएको छ ।
एउटा विद्यालयका लागि कम्तीमा दुई घण्टा समय दिने गरि इलाका प्रहरी कार्यालय बरेङबाट विद्यालयमा पुग्नुपर्ने र सचेतना कार्यक्रम हुने दिन वडाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुलाई समेत आमन्त्रण गरि छलफल गराइने समझदारी पत्रमा उल्लेख गरिएको छ ।