दिपेन्द्र परियार,बरेङ । बागलुङको बरेङ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगारहरु मर्मत संभारका काम गरिराखेका छन् ।
स्थानीय तहमा सूचिकृत बेरोजगार व्यक्तिहरुलाई न्यूनतम रोजगारी सुनिश्चित गर्न एवं सामुदायिक पूर्वाधारहरुको विकास मार्फत नागरिकको जीवनयापनमा सुधार ल्याउन यस कार्यक्रमले सहयोग पुगेको पालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभएको छ । निम्न आय भएका, दैनिकी चलाउन धौधौ भएका घर परिवारलाई यस कार्यक्रमले अत्यन्तै लाभ दिएको अध्यक्ष शर्माको भनाइ छ ।
पालिकाभित्र अहिले एक सय बेरोजगारहरुले प्रति व्यक्ति सय दिन नै रोजगार हुने गरि ३० दिन काम गरिसकेका छन् । सिंचाई कुलो, गोरेटोबाटो, मोटरबाटो ग्याभिङ तथा नाली निर्माण, खेलकुद मैदान, विद्यालय कम्पाउन्ड निर्माण, सार्वजनिक शौचालय,चौतारो निर्माण, खानेपानी, पोखरी मर्मत जस्ता काममा बेरोजगारहरुले काम गरिरहेको रोजगार सेवा केन्द्र प्रमुख केशबराज क्षेत्री बताउनुभयो ।
पालिकाका पाँच वडाका गरि १३५४ सूचिकृत बेरोजगार मध्ये पहिलो चरणमा १०० जनाले काम गरिराखेका छन् भने अब दोस्रो चरणमा २०० बढीले रोजगार पाउने बताइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलाय मार्फत श्रमिकको लागि सामुहिक दुर्घटना बीमाको समेत व्यवस्था गरिदिएको छ । असार मसान्तसम्मको समयावधि रहने गरि सुचिकृत भएका र काममा खटाइएका श्रमिकको लागि कार्यस्थल दुर्घटना बीमाको व्यवस्था गरेको छ । पौष १ गतेबाट लागू हुने गरि राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग श्रम तथा रोजगार मन्त्रालयले सम्झौता गरि बीमा शुल्क बापतको सम्पूर्ण रकम मन्त्रालयले नै व्यहोर्ने पौष ६ मा प्राप्त पत्रमा उल्लेख गरिएको छ र सात लाख सम्मको मृतक दुर्घटना बीमा, दुर्घटनाजन्य कारणबाट उत्पन्न अपाङगता तथा असक्तता र औषधी उपचार बीमा समेतलाई समावेश गरिएको छ, “रोजगार सेवा केन्द्र प्रमुख क्षेत्री”ले जानकारी दिनुभयो ।
नेपाल सरकारले तोकिएको दररेट दैनिक ५ सय १७ मा काम हुँदैन कि भन्ने थियो तर गत वर्ष भन्दा झन बढी काम भएको सेवा केन्द्रका प्राविधिक सहायक कमल आचार्यले बताउनुभयो । एकजनाले १०० दिन नै पाउने भनेपछि रोजगार नभएको बेला खुसी हुँदै काम गरिराखेका छन् आचार्यले भन्नुभयो, “पालिकाको ५ वटा वडामा गरि १६ वटा योजना छनोट भएका र अनुगमन गर्दा प्रत्येक योजनामा पुरुष भन्दा काम गर्नेको संख्या महिलाको बढी छ, महिलाहरु अझ बढी खुसी छन्” ।
कोभिड १९ का कारण बेरोजगार भै घरमै बस्नुपरेको अवस्थामा काम गर्न पाउँदा श्रमिकहरु हर्षित छन् । निर्माण सामग्री नपाइने र ज्यालाका लागि मात्र भनेर पहिलो चरणमा बरेङ गा.पा लाई ५१ लाख ७० हजार र दोस्रो चरणमा करिब १ करोड २० लाख सर्शत अनुदान रकम निकासा भएको छ । निर्माण सामग्री चाहिने योजनाका लागि पालिकाले सहयोग गर्ने रोजगार सेवा केन्द्रले बताएको छ ।